दोहाबाट काठमाडौँ दैनिक उडान: कतार एयरवेजले मार्च २८ सम्म सीमित तालिका सञ्चालन गर्ने

दोहा —कतार एयरवेजले दोहाबाट सञ्चालन हुने सीमित अन्तर्राष्ट्रिय उडान तालिका अद्यावधिक गर्दै मार्च २८ सम्म दोहा–काठमाडौँ उडान दैनिक सञ्चालन हुने जानकारी दिएको छ। क्षेत्रीय परिस्थितिका कारण नियमित हवाई सेवा प्रभावित भइरहेका बेला यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन कम्पनीले सीमित उडान व्यवस्था लागू गरेको जनाएको हो।
एयरलाइन्सका अनुसार हालको सीमित तालिकाअन्तर्गत दोहाबाट काठमाडौँका लागि हरेक दिन उडान सञ्चालन हुने व्यवस्था गरिएको छ। यसले कतारमा रहेका नेपाली यात्रु तथा स्वदेश फर्किन प्रतीक्षारत व्यक्तिहरूलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
कतार एयरवेजले सार्वजनिक गरेको जानकारी अनुसार अहिले सञ्चालन भइरहेका उडानहरू अस्थायी सीमित सञ्चालन अन्तर्गत रहेका छन्। क्षेत्रीय हवाई मार्ग तथा सुरक्षा अवस्थाअनुसार कतार सिभिल एभिएसन प्राधिकरणबाट प्राप्त अनुमति अनुसार मात्रै उडान सञ्चालन भइरहेका छन्।
एयरलाइन्सले स्पष्ट पारेको छ कि अहिले सञ्चालन भइरहेका उडानहरू नियमित व्यावसायिक उडान पूर्ण रूपमा पुनः सुरु भएको संकेत होइन। स्थिति सामान्य भएपछि मात्रै नियमित उडान तालिका क्रमशः पुनः सञ्चालन गरिने कम्पनीले जनाएको छ।
यात्रुहरूका लागि सूचना
- कतार एयरवेजले यात्रुहरूलाई यात्रा अघि केही महत्त्वपूर्ण कुरामा ध्यान दिन आग्रह गरेको छः
- पक्का (confirmed) टिकट भएका यात्रु मात्र विमानस्थल जानुपर्ने
- उडान स्थिति आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जाँच गर्नुपर्ने
- सीमित उडान भएकाले सिट संख्या पनि सीमित हुने
एयरलाइन्सले यात्रुहरूको सुरक्षा र सुविधा प्राथमिकतामा राख्दै प्रभावित यात्रुहरूलाई सकेसम्म छिटो गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको जनाएको छ।
यसबीच दोहा हुँदै नेपाल यात्रा गर्ने नेपाली कामदार तथा अन्य यात्रुहरूका लागि दैनिक दोहा–काठमाडौँ उडान सञ्चालन हुने सूचना महत्वपूर्ण मानिएको छ।
टिकट मूल्यमा अन्तर
दोहा–काठमाडौँ उडानका लागि टिकट मूल्यमा पनि फरक देखिएको छ। यो समाचार तयार पार्दासम्म उपलब्ध बुकिङ विवरण अनुसार अधिकांश मितिमा टिकटको मूल्य करिब ३,६३० कतारी रियाल (QAR) आसपास देखिएको छ।
तर केही मितिमा तुलनात्मक रूपमा सस्तो टिकट पनि उपलब्ध रहेको देखिएको छ। उदाहरणका लागि मार्च २२ र मार्च २४ का उडानमा टिकट मूल्य करिब १,८२० कतारी रियाल सम्म देखिएको छ।
यद्यपि हवाई टिकटको मूल्य माग तथा उपलब्ध सिटको आधारमा परिवर्तन हुन सक्ने भएकाले यात्रुहरूले अन्तिम मूल्य कतार एयरवेजको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जाँच गर्नुपर्ने जनाइएको छ।