रस लाफान क्षेत्रमा मिसाइल आक्रमणको प्रयास, कतारले दुई मिसाइल अवरोध गर्यो

कतारको उत्तर–पूर्वस्थित रस लाफान औद्योगिक क्षेत्रमाथि भएको मिसाइल आक्रमणपछि व्यापक आगलागी र संरचनात्मक क्षति पुगेको कतार इनर्जी (QatarEnergy) ले पुष्टि गरेको छ।
कतार इनर्जीका अनुसार आक्रमणअघि नै उक्त क्षेत्र खाली गरिएकाले मानवीय क्षति भने भएको छैन। इरानले आफ्ना ग्यास क्षेत्रमाथि भएको आक्रमणको प्रत्युत्तरस्वरूप खाडी क्षेत्रका ऊर्जा संरचनालाई लक्षित गर्ने चेतावनी दिएको केही घण्टापछि रस लाफानमा आक्रमण भएको हो।
इरानको रिभोलुसनरी गार्डले कतारसहित साउदी अरब र यूएईका विभिन्न ऊर्जा केन्द्रहरू खाली गर्न चेतावनी दिएको थियो, र सोही क्रममा रस लाफान क्षेत्रमा पनि पूर्वतयारीस्वरूप खाली गराइएको जनाइएको छ।
आक्रमणपछि उत्पन्न आगो नियन्त्रणमा लिन आपतकालीन टोली परिचालन गरिएको छ र क्षति नियन्त्रणको काम जारी रहेको छ।
यसैबीच, कतारको रक्षा मन्त्रालयले घटनापछि थप जोखिम टार्न रस लाफानतर्फ लक्षित दुईवटा ब्यालेस्टिक मिसाइल सफलतापूर्वक अवरोध गरिएको जनाएको छ। यसले सम्भावित थप क्षति हुनबाट जोगाएको बताइएको छ।
रस लाफान औद्योगिक सहर विश्वकै सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (LNG) उत्पादन केन्द्र हो, जहाँबाट विश्वको करिब २० प्रतिशत LNG आपूर्ति हुन्छ। यस्तो रणनीतिक महत्वको क्षेत्रमा भएको आक्रमणले अन्तर्राष्ट्रिय ऊर्जा सुरक्षामाथि गम्भीर असर पार्न सक्ने चिन्ता बढेको छ।
पछिल्ला घटनाक्रमले खाडी क्षेत्रमा ऊर्जा पूर्वाधार लक्षित आक्रमणको जोखिम तीव्र रूपमा बढेको संकेत गरेका छन्। सम्बन्धित निकायहरूले स्थिति निरन्तर निगरानीमा रहेको जनाउँदै सर्वसाधारणलाई आधिकारिक स्रोतबाट प्राप्त जानकारी मात्र विश्वास गर्न आग्रह गरेका छन्।