अमेरिका–इरान वार्ता सकारात्मक, ट्रम्पद्वारा पाँच दिन आक्रमण स्थगित

दोहा, अमेरिका र इरानबीच पछिल्ला दिनमा भएका कूटनीतिक संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको संकेत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गरेका छन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार दुई देशबीच पछिल्ला दुई दिनमा ‘अत्यन्त राम्रो र परिणाममुखी’ वार्ता भएको छ। उक्त संवादलाई निरन्तरता दिँदै क्षेत्रीय तनाव कम गर्ने प्रयास भइरहेको उनले बताएका छन्।

यसअघि अमेरिकाले इरानलाई रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलडमरूमध्य पुनः खोल्न ४८ घण्टे अल्टिमेटम दिएको थियो। सो अवधिभित्र माग पूरा नभए ऊर्जा संरचनामाथि आक्रमण गर्ने चेतावनी दिइएको थियो।

तर पछिल्लो वार्तापछि सम्भावित तनाव घट्ने संकेत देखिएसँगै ट्रम्पले इरानका ऊर्जा तथा विद्युत् संरचनामाथि हुने सैन्य कारबाही अस्थायी रूपमा रोक्न निर्देशन दिएका हुन्।

वार्तामा मध्यस्थकर्ताका रूपमा ओमान र टर्की सक्रिय रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त वार्ताले क्षेत्रीय द्वन्द्व अन्त्यतर्फ जान सक्ने आशा गरिएको छ, यद्यपि अवस्था अझै संवेदनशील नै रहेको विश्लेषकहरूले बताएका छन्।

यसबीच, इरानले पनि सम्भावित अमेरिकी कारबाहीको प्रतिकार गर्ने चेतावनी दिँदै आएको थियो, जसले मध्यपूर्वमा थप तनाव बढ्ने जोखिम देखिएको थियो।

यसैबीच, अमेरिका–इरानबीचको वार्ताले द्वन्द्व अन्त्यतर्फ जान सक्ने संकेत पाएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। विश्वव्यापी मापदण्ड ब्रेन्ट क्रुड ७ प्रतिशतभन्दा बढी घट्दै प्रति ब्यारेल ९९ डलरभन्दा तल झरेको छ, जुन दिनको सुरुवातमा ११४ डलरसम्म पुगेको थियो। अमेरिकी मापदण्ड डब्लुटीआई (WTI) पनि करिब ८ प्रतिशत घट्दै प्रति ब्यारेल ९० डलरमा कारोबार भइरहेको छ, जुन अघिल्लो मूल्यभन्दा करिब १० डलरले कम हो।

ट्रम्पले ट्रुथ सोसलमा लेख्दै अमेरिका र इरानबीच ‘पूर्ण रूपमा द्वन्द्व अन्त्य गर्ने विषयमा अत्यन्त राम्रो र परिणाममुखी संवाद’ भएको दाबी गरेका छन्। उनले वार्ता आगामी साताभर जारी रहने पनि उल्लेख गरेका छन्।

अहिलेको निर्णयलाई सैन्य टकरावबाट कूटनीतिक समाधानतर्फको संकेतका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
6
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button