कतारमा निजी क्षेत्रमा अब सबै काम सामान्य रूपमा सञ्चालन हुने

दोहा, कतारको श्रम मन्त्रालयले वाणिज्य तथा उद्योग मन्त्रालयसँगको सहकार्यमा निजी क्षेत्रका सबै संस्थाहरूमा नियमित कार्य व्यवस्था पूर्ण रूपमा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ।
सोमबार जारी गरिएको आधिकारिक सूचनामा सरकारले यसअघि लागू गरिएको ‘रिमोट वर्क’ (दूरबाट काम गर्ने व्यवस्था) सम्बन्धी सिफारिस फिर्ता लिएको जनाएको छ। मन्त्रिपरिषद्को महासचिवालयबाट जारी निर्देशनको कार्यान्वयनस्वरूप व्यवसायिक गतिविधिहरूलाई प्रभावकारी, नियमित र स्थिर बनाउने उद्देश्यले उक्त निर्णय गरिएको हो।
मन्त्रालयका अनुसार अबदेखि सबै कम्पनीहरूले आफ्ना कर्मचारीलाई पुरानै जस्तै नियमित कार्यालयमा बोलाएर काम गराउनुपर्नेछ। यससँगै अघिल्लो समय लागू गरिएको लचिलो वा दूरकार्य प्रणाली पूर्ण रूपमा अन्त्य भएको छ।
सरकारले यो निर्णयलाई देशको आर्थिक गतिविधि सुदृढ गर्ने, कार्यक्षमता अभिवृद्धि गर्ने तथा समग्र व्यावसायिक वातावरणलाई सामान्य अवस्थामा फर्काउने प्रयासका रूपमा व्याख्या गरेको छ।
सूचनाको अन्त्यमा देशको सुरक्षा, स्थिरता र समृद्धिका लागि शुभकामना व्यक्त गरिएको छ।